भदौ ८ काठमाडौं,
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन उपत्यका नगरपालिका मेयर फोरमले जिल्ला प्रशासनलाई सुझाव दिइएकाे छ।
सोमबार बसेको बैठकले संक्रमणको अवस्था जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई फोरमले सुझाव दिने निर्णय गरेको हो। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए।
भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो। मध्यपुर थिमी नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको जानकारी दिए। त्यस्तै उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको छ।
