काठमाडौं, २८ भदौ ।
नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि उनको निवास बालुवाटारबाट निकालिएको छ ।
राजकीय सम्मानका साथ नेम्वाङको पार्थिव शरीर निवासबाट निकालेर अहिले पशुपति आर्यघाटतर्फ लगिएको छ । उनको निवासमै नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ ।
नेम्वाङको पार्थिव शरीरलाई उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइने छ ।
शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ-आफ्नो अनुकुलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न अनुरोध गरिएको छ ।
७१ वर्षीय नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर र हिजो बुधबार दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको थियो । त्यसपछि हिजो बुधबार दिउँसो बालुवाटारस्थित घरमा लगेर किरात संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
नेम्वाङको निधनमा सरकारले आज सार्वजानिक विदा दिएको छ । सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ ।