सुनापती गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले आफूले चुनावी अभियानमा गरेका प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन भइरहेको दाबी गर्नुभएको छ। बिहीबार गाउँपालिकाको कार्यालय हिलेदेवीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले नागरिकका सुझावलाई प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताउनुभयो।
कार्यक्रममा अध्यक्ष तामाङले गाउँपालिका अहिले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएको र गाल्पा बजारदेखि पालिका केन्द्रसम्मको सडक मर्मत तथा कालोपत्रे कार्य अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले नागरिकहरूसँग नियमित सम्पर्कमा रही उनीहरूका गुनासोहरू सुन्दै समाधानको प्रयास भइरहेको दाबी गर्नुभयो।
कृषिक्षेत्रलाई विशेष प्राथमिकता दिँदै अध्यक्ष तामाङले गाउँपालिकामा कृषि एम्बुलेन्सको व्यवस्था गरिने घोषणा गर्नुभयो। उहाँका अनुसार हाल बाँकी कार्यकालभित्र सबै ५ वटै वडामा कृषि एम्बुलेन्स सञ्चालन गरी कृषकका उत्पादनलाई बजारीकरण गर्न सहजीकरण गरिनेछ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष गीता विष्ट चौलागाईंले सार्वजनिक सुनुवाइ कार्यक्रम सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले काम गर्ने क्रममा देखिएका कमजोरी सुधार गर्न र नागरिकको सरोकार बुझ्न यस्तो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदन अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षको कुल ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ बजेटमध्ये ४६.८४ प्रतिशत अर्थात् २६ करोड ६५ लाख ८४ हजार ३९२ रुपैयाँ खर्च गरिसकेको छ। चालु खर्चतर्फ मात्र हेर्दा ३६ करोड ६६ लाख ९० हजार ८०० रुपैयाँमध्ये ५५.३८ प्रतिशत अर्थात् २० करोड ३० लाख ७४ हजार ९९३ रुपैयाँ खर्च भइसकेको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रम प्रहार मिडिया प्रालि, मन्थलीको सहकार्यमा सम्पन्न गरिएको हो।
1 वर्ष पहिले
  
885 Post Views
10 महीना पहिले
