जिल्ला सहकारी संघ दोलखाको १८ औँ वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
दोलखाको चरिकोटमा सम्पन्न साधारणसभाले देवी प्रसाद शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सरुणा बस्नेत, महासचिवमा दिलबहादुर केसी र कोषाध्यक्षमा नविन कुमार खतिवडा चयन हुनुभएको छ । सचिव, लेखा समितिको संयोजक र खुला महिला सदस्यमा भने सहमति जुट्न नसकेपछि उक्त पद रिक्त रहेको छ ।
सचिव पदमा विकास चौलागाई र मिनकुमार खड्काको दावी थियो भने लेखा समितिको संयोजकमा पुष्कर कुमार दाहाल र रत्नबहादुर श्रेष्ठले दाबी गरेका थिए ।
साधारणसभाबाट संघको कार्यसमितिको सदस्यमा अप्सरा चौलागाई, गोपाल जिरेल, सविना भण्डारी र सन्तोष खड्का सर्वसम्मत चयन हुनभएको छ ।
जिल्ला सहकारी संघ दोलखाको राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लले उद्धघाटन गर्नुभएको थियो । साधारणसभामा संघका अध्यक्ष हेमन्त चौंलागाईले संघमा जिल्लाभर ३ सय ९७ सहकारी संस्थाहरु आवद्ध रहेको जानकारी दिनुभयो । । उहाँका अनुसार दोलखाका सहकारी संस्थाहरुमा करिब २ लाख सदस्य आवद्ध छन भने कुल पुँजी १५ अर्ब पुगेको छ ।