पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुने क्रमले तीव्रता पाइरहेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि प्रतिअमेरिकी डलर खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ ४७ पैसा निर्धारण गरेको छ । बिहीबार इतिहासकै उच्च १४४ रुपियाँ एक पैसा खरिददर निर्धारण गरिएको थियो ।
डलरको सामु नेपाली मुद्रा अवमूल्यन हुनु नेपालका लागि सुखद होइन तर नेपाली मुद्रा अवमूल्यन हुनु नेपालको अर्थतन्त्रको कारण नभई भारतीय मुद्रा कमजोर हुँदाको असर हो । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार भारतीय मुद्रा कमजोर हुँदाको असर नेपाली मुद्रा कमजोर बनेको हो ।
भारुसँग नेपाली मुद्राको विनिमय दर सन् १९९३ देखि स्थिर छ । “नेपाली मुद्राको विनियमय दर भारतीय मुद्रासँग स्थिर विनिमय दर निर्धारण गरिएका कारण हाम्रो मुद्रा पनि सोही अनुसार अवमूल्यन भएको हो,” उहाँले भन्नुभयो, “भारत–अमेरिकाको अर्थराजनीतिक सम्बन्ध व्यापार, लगानी जस्ता कारण अहिले भारतीय रुपियाँ नै अवमूल्यन भइरहेको छ ।”
गत मेमा ८४.५५ भारु प्रतिडलर रहेको विनिमय दर अहिले ९०.०५ भारु पुगेको छ । यसको सिधा असर नेपाली मुद्राले पनि बेहोर्दै छ । सन् २०११ को जनवरीमा प्रतिडलर ७२ रुपियाँ ३८ पैसा रहेको विनिमय दर डेढ दशकको अवधिमा १०२.८ प्रतिशतले बढिसकेको छ । यो वर्ष जनवरीमा १३८.५७ रहेको विनिमय दर अप्रिलमा आउँदा केही घटेर १३५.१९ मा ओर्लिएको थियो तर डिसेम्बरमा आइपुग्दा जनवरीदेखि ५.१६ प्रतिशतले नेपाली मुद्रा अवमूल्यन भइसकेको छ ।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार भारु कमजोर हुनुका पछाडि अमेरिकासँग भारतको व्यापार तनाव, लगानी फिर्ता तथा भारतीय रिजर्भ बैङ्कको भूमिका मुख्य जिम्मेवार छ । तथ्याङ्क अनुसार सन् २०२५ मा मात्रै भारतबाट १७ करोड अमेरिकी डलर बराबरको लगानी फिर्ता भएको छ ।
त्यस्तै व्यापार असमझदारीका कारण अमेरिकाले भारतबाट हुने कतिपय आयातमा ५० प्रतिशतसम्म कर लगाएकाले व्यावसायिक मनोबल पनि गिर्दो छ । प्रवक्ता पौडेलका अनुसार मुद्रा कमजोर हुँदा भारतीय रिजर्भ बैङ्कले केही हस्तक्षेप गर्ने ठाउँ छन् तर त्यो अहिले गरिएको छैन ।आफ्नो मुद्रा अवमूल्यन हुँदा आयातमा आधारित नेपालको खरिद क्षमता कमजोर हुन्छ । पेट्रोलियम, स्टिल, खानेतेल, सवारीसाधन तथा पार्टपुर्जा मुख्य रूपमा आयात हुने वस्तु हुन् । चालु आव २०८२/८३ को पहिलो चार महिनामा नेपालले छ खर्ब ९४ अर्ब ५१ करोड २३ लाख रुपियाँ बराबरको वस्तु आयात गरेको छ । डलर महँगिँदाको चापले गर्दा नेपालले आयातका लागि थप खर्चनुपर्ने हुन्छ ।
त्यस्तै वैदेशिक भ्रमण, शिक्षाका लागि बिदेसिने रकम तथा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा पनि महँगो मूल्य मुलुकले चुकाउनुपर्ने हुन्छ । सबै नोक्सानी मात्रै नहुने प्रवक्ता पौडेल बताउनुहुन्छ । रेमिट्यान्स, पर्यटन, निर्यात जस्ता शीर्षकमा डलर भित्रने हुँदा त्यसले नेपाललाई भने फाइदा पु¥याउँछ । रेमिट्यान्सको असर प्रत्यक्ष घरपरिवारमा पर्ने भएकाले त्यस्ता व्यक्तिका लागि विदेशी मुद्रा नेपाल पठाउँदा लाभ हुन्छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार असोजमा दुई खर्ब एक अर्ब रुपियाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ, जुन नेपाली रुपियाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले वृद्धि हो । त्यस्तै नेपालीले सूचना प्रविधिलगायत सेवा क्षेत्रमा गर्ने सेवा निर्यातको मूल्य प्राप्तिमा पनि यसले सकारात्मक योगदान पु-याउने छ ।
7 घन्टा पहिले
  
2 Post Views
7 घन्टा पहिले
7 घन्टा पहिले
