धान खेती थन्काएका लमजुङका किसानहरू कोदो बाली थन्काउने चटारोमा छन् । मङ्सिर पहिलो सातादेखि किसानहरूले कोदो टिप्न थालेका हुन् । साउनमै लगाइएको कोदो पाकेको स्थानीयले बताएका छन् । भदौमा लगाएको कोदो मङ्सिर अन्तिममा मात्र टिप्न ठिक्क हुने किसान बताउँछन् ।
मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी भलामचौरका किसान रत्नबहादुर गुरुङले गाउँका किसानहरू कोदो थन्काउन व्यस्त रहेको बताउनुभयो । उहाँका अनुसार भलामचौर, सिम्पानी, मिर्चे लगायतका स्थानमा कोदो थन्काउन किसानहरू व्यस्त छन् ।
जिल्लाको आठवटै पालिकाका ग्रामीण क्षेत्रहरूमा कोदो खेती गरिँदै आएको छ । किसानले यो वर्ष कोदो उत्पादन बढ्ने बताएका छन् । बेँसीसहर नगरपालिकाको विम्दाबेँसीकी देउकाशी गुरुङले भन्नुभयो, “यस वर्ष रोगकीरा लागेन् । मौसम पनि राम्रै भयो । उत्पादन पनि राम्रो हुन्छ ।”
मध्यनेपाल नगरपालिका–५, समिभन्ज्याङमा रैथाने बाली प्रवर्धनका लागि २५ जातका कोदो खेती गरिएको थियो । नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा परीक्षणका लागि लगाइएको २५ जातका कोदोले राम्रो उत्पादन दिएको छ । खाद्य तथा कृषि सङ्गठनको आर्थिक सहयोग, नेपाल कृषि अनुसन्धान परिषदको राष्ट्रिय अनुवंशिक श्रोत केन्द्र (जिन बैँक)बाट सञ्चालित रैथाने कृषि परियोजनाअन्तर्गत रैथाने बाली संरक्षण तथा प्रवर्धनका लागि मध्य नेपालको पराजुलीबेँसी मगर गाउँमा २२ प्रकारका र आमडाँडामा २५ जातका कोदो रोपिएको वडाध्यक्ष ओमवीर गुरुङले बताउनुभयो । कोदोजन्य बालीको जातिय परीक्षणका लागि लगाइएको स्थानीय र रैथाने जातको कोदोमा राम्रो फसल लागेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
यसवर्ष २५ प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ । अघिल्ला वर्षहरूमा फौजी किराको आक्रमण रहेको, मौसम प्रतिकुल भएकाले उत्पादन घटेको थियो । जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने प्रमुख बालीमध्ये कोदो एक हो । कुल सात हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट गतवर्ष २० हजार टन उत्पादन भएको थियो ।
पौष्टिक कोदो मदिरामा प्रयोग
उत्पादन बढे पनि पछिल्लो समय उत्पादित कोदो खाद्य सामग्रीको रूपमा भन्दा घरेलु मदिरा बनाउनमा बढी प्रयोग हुने गरेको छ । अन्य खाद्यान्नको तुलनामा कोदोमा बढी पौष्टिक तत्व पाइने भए पनि सर्वसाधरणमा पर्याप्त ज्ञान नहुँदा कोदो जाँडरक्सीमा परिणत हुने गरेको हो ।
केहीवर्ष पहिले कोदोलाई गरिब वर्गले प्रयोग गर्ने भनी हेलाको दृष्टिले हेरिने गरेपनि आजकल धनाढ्य वर्गले पनि शोखको खानाको रूपमा प्रयोग गर्ने गरका छन् । अझ मधुमेहलगायतका बिरामीहरूका लागि कोदोको परिकार उत्तम हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर जाँडरक्सी बनाउन बढी प्रयोग हुन थालेपछि कोदोको ढिँडो खान मन पराउनेहरूलाई पिठो पाउनै गाह्रो हुने गरेको छ ।
स्वास्थ्यको दृष्टिले उपयुक्त कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज, मिनरलका साथै क्याल्सियम तत्त्व पाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । पौष्टिक तत्त्व पर्याप्त पाइने भएकै कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिशुहरूका लागि लिटोको पीठोमा कोदोको पिठोलाई पनि सिफारिस गरेको छ ।
7 घन्टा पहिले
  
2 Post Views
7 घन्टा पहिले
7 घन्टा पहिले
