दिपक बस्नेत
मंसिर १८, तामाकोशी ।
दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसी विजयी हुनु भएको छ ।
केसी प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । केसीले १९ हजार ४ सय १४ मत पाउँनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाउँनु भएको छ । २०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएर एक कार्यकाल विताउँनु भएका केसीलाई प्रदेशको यात्राका लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।
प्रदेशसभा सदस्यमा निर्वाचित हुनुमा यो पटक पनि केसीलाई भीमेश्वर नगरकै मतको ठूलो योगदान रहेको छ । क्षेत्र २ अन्तर्गतको ४ पालिकामध्ये भीमेश्वर नगरपालिका र बिगु गाउँपालिका बाहेकका अन्य पालिकामा उहाँ पछि पर्दै आएपनि अन्तिममा भीमेश्वरको मतले बिजयी हुनु भएको हो ।